सुदूरपश्चिममा प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि

धनगढीः १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन प्रदेशले ३० वटा खेलका खेलाडी छनोट गर्न लागेको हो ।

प्रदेश खेलकुद परिषद्ले कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ । प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा आयोजना हुनेछ । डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोट्र्सका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

Dhangadhi_Tihar 2083

त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन हुनेछन् । प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । जिल्ला तहबाट छनोट भएका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोलीमा समावेश गरिनेछ ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’ले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले छनोट प्रतियोगितामा सहभागी हुने सबै खेलका खेलाडीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। ‘प्रदेश छनोट सम्पन्न गरेर हामी राष्ट्रिय खेलकुदमा जितको लक्ष्यसहित जाँदैछौँ,’ उनले भने ।

परिषद्का अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहनेछ । छनोटपछि राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने अन्तिम टोली तयार गरिनेछ ।

Loading...