२०औं संस्करणको सुदूरपश्चिम महोत्सवको तयारी तिव्र, मंसिर २२ देखि सुरु हुने

धनगढी : २०औं संस्करणको सुदूरपश्चिम महोत्सव यहि मंसिर २२ देखि पुस ५ गतेसम्म आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवबारे जानकारी दिएको हो । सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग तथा व्यापारको विकास र मौलिक कला, संस्कृति एवं परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको संघका अध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।

ओझाले धनगढी उपमहानगरपालिका-१, पशुपति टोलस्थित मैदानमा महोत्सव सञ्चालन गरिने जानकारी दिए । महोत्सवको तयारीको लागि २५ वटा समिति गठन गरिएको उनले बताए । ‘सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुने महोत्सवले विभिन्न चुनौतीका कारण प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः गतिशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ ओझाले भने ।

Dhangadhi_Tihar 2083

यसवर्षको महोत्सवमा व्यावसायिक तथा कृषि प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको संघले जनाएको छ । कृषि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि, ताजा तरकारी तथा कृषि उपजको प्रदर्शनीसँगै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने लक्ष्य राखिएको संघका अध्यक्ष ओझाले जानकारी दिए । महोत्सवमा सुदूरपश्चिमका मौलिक कला, संस्कृति, लोकसंगीत, लोकनृत्य, लोकभेषभूषा तथा परम्परालाई विशेष स्थान दिइनेछ । विगतका महोत्सवबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल कलाकारलाई निरन्तरता दिँदै यस क्षेत्रका सम्भावनायुक्त कलाकारलाई प्राथमिकता दिइने अध्यक्ष ओझाले बताए। महोत्सव स्थलमा सुदूरपश्चिमका मौलिक परिकारसहित विभिन्न खानाका परिकार उपलब्ध हुनेछन् । खाद्य पदार्थको गुणस्तर, सरसफाइ तथा स्वच्छ वातावरण व्यवस्थापनका लागि होटल व्यवसायी संघसँग आवश्यक समन्वय गरिएको जनाइएको छ ।

यसवर्षको महोत्सवमा करिब चार करोड रुपैयाँ लगानी हुने र करिब १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रका करिब ४२५ वटा स्टल रहनेछन् । महोत्सवलाई थप आकर्षक बनाउन १५० वटा प्यागोडा शैलीका स्टलसमेत निर्माण गरिने जनाइएको छ ।

यसपटकको महोत्सवको मुख्य आकर्षणका रूपमा ‘अम्ब्रेला स्ट्रिट’ रहनेछ। युवापुस्तालाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिने उक्त संरचना महोत्सवको आकर्षणको केन्द्र बन्ने आयोजकको अपेक्षा छ। महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कैलाली उद्योग वाणिज्य संघका आजीवन सदस्यलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने अध्यक्ष ओझाले बताए । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, महिला उद्यमशीलताको प्रवर्द्धन, रोजगारी सिर्जना तथा युवालाई उद्यम र व्यवसायमा आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

Loading...