मष्टाधाम दर्शन अभियान सुरु, यसै वर्ष ११११ धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडास्थित मष्टाधाममा ११११ जना धार्मिक पर्यटकलाई दर्शन गराउने लक्ष्यसहित ‘मष्टाधाम दर्शन अभियान–२०८३’ सुरु गरिएको छ।

आस्था, विश्वास, धर्म र संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा गोदावरीका १२ वटै वडाबाट आएका करिब ५५ जना ज्येष्ठ नागरिक तथा श्रद्धालु भक्तजनले मष्टाधामको दर्शन तथा पूजाआराधना गरेका छन्।

मष्टाधाम व्यवस्थापन समितिको निमन्त्रणा तथा आयोजनामा गोदावरी ज्येष्ठ नागरिक समाजको सहकार्यमा मंगलबार भ्रमण कार्यक्रम गरिएको हो। भ्रमणका क्रममा ज्येष्ठ नागरिकहरूले एकै स्थानमा रहेका १२ वटा मष्टा देवताको दर्शन गर्नुका साथै धामको धार्मिक तथा पर्यटकीय महत्वबारे जानकारी लिएका थिए।

Dhangadhi_Tihar 2083

मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जिमि साउदले ६५ बिघा क्षेत्रफलमा फैलिएको धामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिए। उनका अनुसार धामलाई धार्मिक क्षेत्र, सेल्फी पार्क, ग्रिन एन्ड स्टोन पार्क, ताल क्षेत्र र पिकनिक स्पोर्ट गरी पाँच खण्डमा विकास गर्ने योजना छ। २०७४ सालदेखि निर्माण कार्य अघि बढाइएको भए पनि अपेक्षाअनुसार बजेट प्राप्त हुन नसक्दा निर्माणले गति लिन नसकेको उनले बताए।

निर्माण सम्पन्न भएपछि दैनिक एक हजारभन्दा बढी पर्यटक भित्र्याउन सकिने अपेक्षा गरिएको बताउँदै अध्यक्ष साउदले यसले गोदावरीसहित समग्र सुदूरपश्चिमको धार्मिक पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले डीपीआरअनुसार सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।

यस्तै, गोदावरी ज्येष्ठ नागरिक समाजका अध्यक्ष भोजराज भट्टले मष्टाधाम धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका दृष्टिले पनि महत्वपूर्ण स्थल रहेको बताए। कर्णाली र सुदूरपश्चिमको धार्मिक आस्थासँग जोडिएको यस धामको विकासमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै उनले यसको संरक्षण र प्रचारप्रसार आवश्यक रहेको बताए।

अभियानको सुरुवातका अवसरमा ज्येष्ठ नागरिक समाजका अध्यक्ष भट्टलाई मष्टाधामको तस्बिर अंकित मायाको चिनो प्रदान गरी सम्मानसमेत गरिएको थियो।

मष्टाधाम व्यवस्थापन समितिले यसै वर्षभित्र गोदावरीका ११११ जना धार्मिक पर्यटकलाई धाममा दर्शन गराउने लक्ष्य लिएको छ। ज्येष्ठ नागरिकको सहभागिताबाट सुरु भएको अभियानले धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै गोदावरीलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Loading...