कैलालीको गोदावरी-१० को वडा कार्यालयमा गरिएको तालाबन्दी खुल्यो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । नगरपालिकाले गरेको विद्यालय समायोजनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका स्थानीयले वडा कार्यालयमा आज तालाबन्दी गरेका थिए ।

गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरिएको थियो । विद्यालय मर्ज रोक्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष राम दत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

उक्त रिटमाथि सर्वोच्चले असार ३१ गते अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतले नगरको उक्त निर्णयमा शिक्षा ऐन २०२८ को दफा १५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८ समेतको प्रक्रिया र कार्यविधिको त्रुटि रहेको भन्दै निवेदनको टुङ्गो नलाग्दा सम्म नगरपालिका र नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उक्त आदेशको पालना गर्दै विद्यालय सञ्चालन हुनुपर्ने माग गरेका स्थानीयहरुले तालाबन्दी गरेका थिए ।

कुनै ठोस निर्णय नभएपनि सेवाग्राहीको समस्या बुझेर ताला खोलीएको स्थानीय भुवन भट्टले बताएका छन् । उनले तालाबन्दी गर्दा गरिएका मागका बिषयमा भने नगरपालिकासँग कुनै सहमती हुन नसकेको बताए ।

Loading...