सुदूरपश्चिममा भारतबाट गहुँको आयात दोब्बरले बढ्यो

धनगढी : सुदूरपश्चिममा खाद्यन्न आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता अझै हटेको छैन् । भारतबाट वर्षेनि ठूलो परिमाणमा खाद्यन्न आयात हुने गरेको छ ।

कृषि उत्पादनमा संघ, प्रदेश र स्थानीय सरकारले बजेट बढाएको दाबी गर्दै आए पनि खाद्यन्न आयात भने वर्षेनि बढ्दै गएको छ । सुदूरपश्चिममा भारतबाट गहुँको आयात दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा गहुँको आयात दोब्बरले बढेको हो ।

Dhangadhi_Tihar 2083

आर्थिक वर्ष २०७९/८० मा दुई हजार ३८३ टन गहुँ आयात भएकोमा २०८०/८१ मा ६ हजार ३७७ टन गहुँ आयात भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष तीन हजार ९९४ टन बढी गहुँ आयात गरिएको छ । जिल्ला भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार आर्थिक वर्ष २०७९/८० मा १० करोड ५० लाख रुपैयाँको गहुँ आयात भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा बढेर २६ करोड ३७ लाखको गहुँ आयात भएर एक करोड ३१ लाख राजस्व समेत असुली भएको छ । प्रदेशमा चामल आयात भने घटेको छ । आर्थिक वर्ष २०७९/८० मा ८ हजार ७ सय २८ टन चामल आयात भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ६ सय १० टन मात्रै चामल आयात भएको छ ।

मकै र लाहीको दाना आयात पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३३ करोड ९३ लाख रुपैयाँको ९ हजार १ सय ६३ टन मकै आयात भएकोमा गत वर्ष आधा घटेर १८ करोड ३८ लाख रुपैयाँको चार हजार ७ सय २८ टन आयात भएको छ ।

त्यस्तै अघिल्लो वर्ष २६ करोड ९२ लाख रुपैयाँको तीन हजार २ सय ५६ टन लाहीको दाना आयात भएकोमा गत वर्ष एक करोड ९१ लाख रुपैयाँको २ सय ६३ टन मात्रै आयात भएको छ ।

Loading...