अत्तरिया : कैलालीको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक आर्थिक वर्षमा साढे ३ करोड बढी आम्दानी गरेको छ । खानेपानी संस्थाले आर्थिक वर्ष २०८०\०८१ मा ३ करोड ५७ लाख ३२ हजार ४६६ रुपैयाँ आम्दानी गरेको हो ।
संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले खानेपानीको महसुलबाट उक्त आम्दानी प्राप्त गरिएको बताए । यस्तै संस्थाले गत आर्थिक वर्षको २४ लाख ३० हजार ८७५ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालय प्रमुख पनेरुले करिब १ हजार ७ सय उपभोक्ताबाट उक्त रकम उठाउन बाँकी रहेको बताएका छन् ।

हाल संस्थाले ५ हजार १३७ उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले गत आर्थिक वर्षमा ३ करोड ८५ लाख ८१ हजार ३६८ रुपैयाँ खर्च गरेको र हाल संस्थाको नगर विकास कोषमा ३ करोड १० लाख ३६ हजार ७५५ रुपैयाँ ऋण रहेको कार्यालय प्रमुख पनेरुले बताए ।
संस्थामा हाल ६ सय घन मिटर र ४२५ घन मिटरका २ वटा ओभरहेड ट्यांकीहरु रहेका छन् भने एउटा २ सय घन मिटरको रिजर्भ ट्यांकी रहेको छ । संस्थाले मेन र शाखा गरी १०९ किलोमिटर पाइप लाइन बिस्तार गरिसकेको छ ।
२०५८ सालमा स्थापना भएको संस्थाले हाल गोदावरी नगरपालिकाको वडा नम्बर १, २ र ४ का उपभोक्ताहरूलाई खानेपानी वितरण गर्दै आएको छ ।