धनगढी : सुदूरपश्चिमका विभिन्न स्थानमा सर्पले डसेर तीन जना घाइते भएका छन् । दार्चुलाको नौगाड गाउँपालिका-२ की ६१ वर्षीया देउती ठगुन्ना घाइते भएकी छन् । उनलाई जङ्गलमा घाँस काट्ने क्रममा सर्पले डसेको थियो । ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारको लागी धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यता कैलालीको बर्दगोरिया गाउँपालिका-३ बटुकुवाका ३० वर्षीय सागर नेपाली पनि सर्पले डसेर घाइते भएका छन् । उनलाई पसलबाट घर आउने क्रममा सर्पले टोकेको हो । घाइते सागरलाइ बर्दगोरिया अस्पताल प्रालि बौनियामा सामान्य उपचारपछि थप उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाडीका ३२ वर्षीय रमेश क्षेत्रीलाई पनि सर्पले डसेको छ । उनलाई घरमै बसिरहेको अवस्थामा सर्पले डसेको थियो। अहिले उनको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।