धनगढीमा देउवा निवास अगाडि फेला परेको शंकास्पद वस्तुभित्र माटो भेटियो

धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ । उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।

Dhangadhi_Tihar 2083

हाल सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेको देउवा निवास अगाडि आज बिहान कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।

स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो । सेनाको टोलीले शंकास्पद झोला खोतल्दा त्यसभित्र बिजुलीबाट चल्ने एउटा भाँडो र त्यो भाँडोभित्र माटो भरेको पाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

Loading...