अत्तरिया : कैलालीको स्याउलेमा जारी गौरा पर्व मेलाको आज समापन गरिएको छ । गोदावरी नगरपालीका वडा नम्बर ८ स्थित स्याउलेमा १० गतेबाट शुरु भएको गौरा पर्व मेला तथा देउडा खेल कार्यक्रमको आज समापन गरिएको हो ।
स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा एक हप्ता सम्म सञ्चालन भएको उक्त मेला आज एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । मेला सञ्चालन समितिका संयोजक गोपाल देउवाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष गोबिन्द चौधरी प्रमुख अतिथी रहेका थिए ।

सात दिनसम्म सञ्चालन भएको गौरा पर्व मेलामा स्थानिय देउडा कलाकारहरुका साथै सुदूरपश्चिमका विभिन्न जिल्लाका कलाकारहरुको सहभागितामा देउडा खेल भएको थियो । मेला सञ्चालन समितिका संयोजक देउवाले यहाँको रितिरिवाज, संस्कृति र संस्कारको जर्गेना गर्न मेलाको आयोजना गरेको बताए । उनले बिगतका बर्षहरु भन्दा यसबर्ष फरक तरिकाले मेला सञ्चालन गरेको बताएका छन् । मेला सञ्चालन समितिका संयोजक देउवाले मेला अवधिभर बिभिन्न माध्यमबाट सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै मेलामा सहभागि देउडा कलाकार, मेला अवधिभर सहयोग गर्ने सहयोगी लगायतलाई समापन कार्यक्रममा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।
भाद्र कृष्ण पञ्चमीबाट शुरु भएको गौरा पर्व ठाउँ परिवेश अनुुसार फरक-फरक दिन समापन गर्ने गरिन्छ । स्याउलेमा शुक्रबार गौरा सेलाई सकिएको छ भने आज गौरा पर्व मेला तथा देउडा खेल कार्यक्रमको समापन गरिएको हो ।