कञ्चनपुरको महेन्द्रनगरमा गृहमन्त्री लेखकद्वारा प्रदेश प्रहरी कार्यालयको उद्घाटन

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा दिनु रहेको: गृहमन्त्री लेखक

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा निर्माण गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय भवनको उद्घाटन गरिएको छ । आज (बुधवार) गृहमन्त्री रमेश लेखकले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।  उनले प्रहरीको सुविधासम्पन्न भवन निर्माणले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । ‘अहिले प्रहरीले सीमित स्रोतसाधनमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ‘नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।’ उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे ।

पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो । उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको बताए । ‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निर्माण भएको छ,’ उनले भने, ‘कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशस्त्र द्धन्द्धलाई शान्तिमा ल्यायौँ ।’ उनले मुलुकमा कांग्रेस र एमाले मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसदका दुई ठूला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नगर्नसमेत आग्रह गरे ।

उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । ‘नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन,’ उनले भने, ‘यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।’ उनले नवनिर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुने विश्वास व्यक्त गरे ।

विसं २०७९ मंसिर २९ गते आशिष कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न रु १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

Deep Jyoti Pustak psl
Loading...