काठमाडौं : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि बुधवार साँझसम्म १०६ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले दल दर्ताको म्याद चार दिन थप गरेको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिनका लागि यहीँ मंसिर १ गतेदेखि १० गतेसम्ममा १०६ दलले दल दर्ता गराएका हुन् । बुधवार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै निर्वाचनमा भाग लिनका लागि बाँकी रहेका दललाई दर्ता गराउन समय पाएका छन् ।
दल दर्ताका लागि बुधबार अन्तिम दिन रहेको थियो तर आयोगले म्याद थप गरेसँगै अब चार दिनसम्म दल दर्ता गराउन पाउने छ ।
आयोगका अनुसार हाल सम्म आयोगमा १३७ वटा दलको दर्ता कायम रहको छ । आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १६ वटा नयाँ दलले पहिलोपटक निर्वाचनमा भाग लिने भएका छन् ।
जेनजी आन्दोलनपछि दर्ता भएका १९ वटा नयाँ दलमध्ये बुधबार साँझसम्म १६ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् ।
