स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि ’भिजिवल इम्प्याक्ट’ र गोदावरी नगरपालिकाबीच छलफल

​अत्तरिया : स्वाथ्यय क्षेत्रमा सहकार्यका लागि ’भिजिवल इम्प्याक्ट’ र गोदावरी नगरपालिकाबीच छलफल भएको छ । युवा तथा महिलाहरूको स्वास्थ्य र अधिकारका क्षेत्रमा क्रियाशील संस्था भिजिवल इम्प्याक्ट (Visible Impact) ले गोदावरी नगरपालिकामा आगामी दिनमा सञ्चालन गरिने स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारिता र सहकार्यका विषयमा एक महत्वपुर्ण समीक्षा तथा छलफल सम्पन्न गरेको हो ।

सोमबार आयोजित उक्त छलफलमा संस्थाका प्रतिनिधिहरू र गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत नवराज अवस्थी बीच छलफल भएको हो । छलफलमा गोदावरी नगरपालिकाभित्र हालसम्म भएका स्वास्थ्य सम्बन्धी गतिविधिहरूको समीक्षा गरिनुका साथै आगामी दिनमा युवा तथा छात्राहरू लक्षित के-कस्ता नयाँ कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सन् २०२५ का सामाजिक च्याम्पियन (Social Champion) एल.आर. ओझाले आफ्नो कार्यकालमा स्वास्थ्य र सचेतनाका क्षेत्रमा भएका विविध उपलब्धि तथा गरिएका कार्यहरूको विस्तृत विवरण प्रस्तुत गरेका थिए । यसैगरी संस्थाकी प्रतिनिधि पार्वती कुमारी जोशीले स्थानीय रैथाने शैक्षिक संस्थाहरू(दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस र लक्ष्मी माध्यमिक विद्यालयमा विभिन्न समयमा सफलतापूर्वक सम्पन्न गरिएका सचेतनामूलक कार्यक्रमहरूको बारेमा जानकारी गराएकी थिईन् । उनले विद्यालय र क्याम्पस स्तरमा छात्राहरूको प्रजनन स्वास्थ्य र महिनावारी स्वच्छताका विषयमा गरिएका प्रयासहरू फलदायी रहेको उल्लेख गरिन् ।

त्यस्तै स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले भिजिवल इम्प्याक्टले स्थानीय स्तरमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नगरपालिकाको स्वास्थ्य शाखाले संस्थाका सकारात्मक कार्यक्रमहरूलाई आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त महत्वपूर्ण छलफलमा संस्थाका तर्फबाट पुष्प बुढा, चरित्र बुढा, र निशान्त जोशी लगायतको उपस्थिति रहेको थियो । छलफलमा आगामी दिनमा गोदावरी क्षेत्रका युवा तथा विद्यार्थीहरूको स्वास्थ्य चेतनास्तर उकास्न थप प्रभावकारी ढंगले अगाडि बढ्ने साझा निष्कर्ष निकालेको बताईएको छ ।

Loading...