अत्तरिया : कैलाली जिल्ला स्तरीय स्कुल डान्स कम्पिटिसन सिजन–३ को उपाधि गोदावरी नगरपालिका–१० मालाखेतीकी डीजी बोहराले जितेकी छन्।सत्यवती एकेडेमीमा कक्षा ७ मा अध्ययनरत बोहराले शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेकी हुन्।
प्रतियोगितामा गोदावरी पब्लिक स्कुलमा अध्ययनरत गोदावरी नगरपालिका–४ की प्रियङ्का मल्ल प्रथम रनरअप भएकी छन्। त्यस्तै, मोहना मल्टेश्वरी स्कुलमा अध्ययनरत गोदावरी नगरपालिका–११ ओलानीकी एलिजा धामी दोस्रो रनरअप भएकी छन्। यसैगरी, गोदावरी नगरपालिका–२ की सृष्टि बिसी चौथो र गोदावरी नगरपालिका–३ खमौराकी सुदिक्षा ताम्राकार पाँचौँ स्थान हासिल गर्न सफल भएका छन्।
वन वे डान्स क्याम्पको आयोजनामा गत साउन ८ गतेदेखि सुरु भएको प्रतियोगिताको तेस्रो संस्करणमा कैलाली जिल्लाभरका ६ सय विद्यार्थी सहभागी भएका थिए। विभिन्न चरण पार गर्दै १६ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका थिए। फाइनलमा विजेता छनोट शतप्रतिशत भोटिङका आधारमा गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने बोहराले नगद ५० हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। त्यस्तै, द्वितीय हुनेले ३० हजार १५१ रुपैयाँ र तृतीय हुनेले २० हजार १५१ रुपैयाँ प्राप्त गरेका छन्। चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई समेत सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिताले गोदावरीसहित कैलाली जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।