काठमाडौं : त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो ।
अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो । सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो । आगलागी भएको बस नम्बर बा५ख ४२७४ हो ।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो । यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका, सिस्नेरी स्थायी घर भई हाल कोटेश्वर बस्दै आएका अर्जुनदावा सात भाइमध्ये एक हुन् । विगत ६-७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत लामाले केही समयअघि ट्याक्सी तथा चन्द्रागिरि यातायात चलाउने गर्थे भने विगत ३-४ महिनादेखि ऋद्धिसिद्धि यातायातमा कार्यरत थिए ।
