बाजुरामा स्याउ उत्पादन बढ्दै, तर बजार पाउन सधैँ सकस

बजारमा प्रतिकिलो ३०० रुपैया पर्ने स्याउ बारीबाट ५० देखी १०० रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता

धनगढी : बाजुराका हिमाली क्षेत्रमा स्याउ उत्पादन बढ्दै गएको छ । किसानका बारीमा स्याउका बोट फलले झुकेका छन् । उत्पादन बढेपछि किसानको उत्साह पनि बढेको छ । बारीमा फलेको स्याउ टिपेर बजारसम्म पुर्‍याउने बेला यहाँका किसानलाई समस्या छ ।

जिल्लाको बुढीनन्दा नगरपालिका-१० का नैन बोहरा अहिले यही दोधारमा छन् । तीन चरणमा गरी ६ हजारभन्दा बढी स्याउका बिरुवा रोपेका बोहरा यतिबेला बारीमा पाकेका स्याउ टिप्न व्यस्त छन् । स्याउ उत्पादन उनको परिवारको पुरानै पेसा हो । पछिल्ला वर्षमा भने उनले यसलाई व्यावसायिक खेतीका रूपमा विस्तार गरेका छन् ।

बोहराका चारै भाइ अहिले स्याउ खेतीमा सक्रिय छन् । आफ्नै जमिनमा मात्र नभई भाडामा जग्गा लिएरसमेत उनले खेती विस्तार गरेका छन् । बारीमा स्याउको रेखदेखका लागि तीन जनाले रोजगारीसमेत पाएका छन् । ‘हामी चारै भाइ अहिले यही उत्पादनमा लागेका छौँ । पहिलेभन्दा अहिले यसबाट ठुलो सम्भावना देखेका छौँ,’ बोहराले भने । उनले स्वदेशी तथा विदेशी गरी चार प्रकारका स्याउ लगाएका छन् । उत्पादन बढ्दै गएपछि केही वर्षमै खेतीबाट राम्रो आम्दानी हुने उनको अपेक्षा छ ।

बोहराको बारीको रेखदेख गर्दै आएका रणबहादुर रोकायाले पनि यस क्षेत्रमा स्याउ उत्पादनको अवस्था पहिलेभन्दा राम्रो भएको बताए । उनका अनुसार बुढीनन्दा-१० मा मात्रै ४० भन्दा बढी परिवार स्याउ खेतीमा संलग्न छन् । ‘यस वर्ष उत्पादन निकै राम्रो छ । हाम्रो मात्रै होइन, आसपासका किसानको बारीमा पनि स्याउ राम्रो फलेको छ,’ रोकायाले भने ।

बुढीनन्दाकै पाण्डुसैनका शेरबहादुर रावतले ८ हजार स्याउका बिरुवा रोपेका छन्, तीमध्ये दुई हजारभन्दा बढी बोटले उत्पादन दिन थालेका छन् । बाँकी बोटले पनि आगामी वर्षमा उत्पादन दिने उनको अपेक्षा छ । रावतका अनुसार केही बोटमा एक क्विन्टलभन्दा बढी स्याउ फलेको छ । उत्पादन धेरै भएका कारण कतिपय रूखका हाँगा नै भाँचिएका छन् । बजारमा प्रतिकिलो ३०० रुपैयाँसम्म पर्ने स्याउ आफूले बारीबाट भने प्रतिकिलो १०० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए ।

बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसानको अवस्था पनि उस्तै छ । यतिबेला उनीहरू स्याउ टिप्ने र बिक्रीको तयारीमा छन् । यहाँ साउनको पहिलो सातादेखि स्याउ पाक्न सुरु भए पनि मुख्य उत्पादन भदौको दोस्रो सातापछि बजारका लागि तयार हुने किसानहरू बताउँछन् । बारीमै पाकेर झर्ने अवस्था आउनुअघि किसानहरू स्याउ टिपेर बिक्री गर्न हतारिनुपर्ने बाध्यता छ ।

स्वामिकार्तिक खापर गाउँपालिका-१ रुडिका जनक बुढाका अनुसार गत वर्ष बारीबाटै प्रतिकिलो ३० रुपैयाँमा स्याउ बिक्री गरेका किसानले यस वर्ष कम्तीमा ५० रुपैयाँ पाउने अपेक्षा गरेका छन् । ‘ब्यापारीले ५० रुपैयाँमा लिएनन् भने आफैं बजारमा लगेर बेच्ने योजना छ,’ उनले भने । बाजुरामा गोल्डेन, डेलिसिएस, गाला, फुजीसँगै स्थानीय जातका स्याउ उत्पादन हुँदै आएका छन् । स्याउबाट आम्दानी हुन थालेपछि किसानले परम्परागत अन्नबाली लगाउने जमिनसमेत बिस्तारै स्याउ खेतीमा प्रयोग गर्न थालेका छन् ।

कम विषादी प्रयोग हुने भएकाले बाजुराको स्याउलाई बाहिरी जिल्लाका बजारमा समेत माग हुने गरेको किसान बताउँछन् । कतिपय व्यापारी स्याउ खरिद गर्न किसानकै बारीसम्म पुग्ने गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा अहिले करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । आगामी केही वर्षमा यो क्षेत्रफल १८० हेक्टरभन्दा बढी पुग्ने अनुमान केन्द्रको छ ।

गत वर्ष जिल्लामा दुई हजार मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो । त्यसमध्ये करिब ६०० मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिशबहादुर विष्टले बताए । उनका अनुसार यस वर्ष उत्पादन अझ बढ्ने अनुमान छ । ‘गत वर्षभन्दा यसपटक स्याउ राम्रो फलेको छ । करिब ७०० मेट्रिक टनभन्दा बढी स्याउ जिल्ला बाहिर जाने सम्भावना देखिन्छ,’ विष्टले भने ।

बाजुराको हावापानी र माटो स्याउ उत्पादनका लागि अनुकूल भएकाले खेती विस्तारको सम्भावना रहेको विष्ट बताउँछन् । किसानको आयआर्जन बढाउन केन्द्रले स्थानीय तहसँगको समन्वयमा बिरुवा वितरण, प्राविधिक सहयोग तथा बजारीकरणमा सहयोग गर्दै आएको उनले बताए । उत्पादन बढेसँगै किसानको मुख्य समस्या अब बजार र ढुवानी बनेको छ । बारीमा उत्पादन भएको स्याउ बजारसम्म पुर्‍याउन सडकको अवस्थाले ठुलो चुनौती खडा गरेको किसानको गुनासो छ ।

बुढीनन्दाको पाण्डुसैनबाट उत्पादित स्याउ मार्तडी हुँदै धनगढीलगायत बजारमा पठाउनुपर्ने हुन्छ । तर कोल्टी-मार्तडी सडकको खराब अवस्थाका कारण स्याउ ढुवानीमा समस्या भइरहेको किसान बताउँछन् । स्याउ उत्पादक कुम्भ बोहराका लागि उत्पादनभन्दा बजार अहिले ठुलो चिन्ताको विषय बनेको छ । ‘मेहनत गरेर स्याउ उत्पादन गरेका छौँ । तर बजारसम्म कसरी पुर्‍याउने भन्ने समस्या छ,’ उनले भने ।

सडकको अवस्था सुधार नभएसम्म स्याउ बजारमा लैजान हतार गर्दा उल्टै घाटा हुने जोखिम रहेको रावत बताउँछन् । त्यसैले उनले अहिलेसम्म आफ्नो बारीको स्याउसमेत पूर्ण रूपमा टिपेका छैनन् । यसअघि समयमा बजार पुर्‍याउन नसक्दा स्याउ बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपरेको अनुभव पनि किसानसँग छ ।

‘पहिले पनि बिक्री नभएपछि स्याउ गाईबस्तुलाई खुवाउनुपरेको थियो । अहिले पनि त्यस्तै अवस्था नआउला भन्न सकिँदैन, मार्तडी-कोल्टी सडक राम्रो नहुँदासम्म यो समस्या दोहोरिरहन्छ,’ उनले भने । उत्पादन बढेको अवस्थामा किसानको स्याउ बजारसम्म पुर्‍याउन सहयोग गर्ने बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले बताए । उनका अनुसार नगरपालिकाले किसानसँग समन्वय गरेर नजिकका बजारसम्म स्याउ पुर्‍याउने विकल्पबारे छलफल गरिरहेको छ । कृषि एम्बुलेन्समार्फत ढुवानीमा सहयोग गर्ने तयारीसमेत भइरहेको उनले बताए ।

बाजुरामा स्याउ खेती विस्तार हुँदै जानु किसानका लागि आम्दानीको नयाँ आधार बनेको छ । तर उत्पादन बढ्दै जाँदा त्यसअनुसार बजार, सडक र ढुवानीको व्यवस्था नहुने हो भने किसानले उचित मूल्य पाउन नसक्ने जोखिम कायमै छ ।

Deep Jyoti Pustak psl
Loading...