धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै दुई सांसदसँग स्पष्टीकरण मागेको छ। पार्टीले सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णयसमेत गरेको हो ।
पाठकलाई समिति सभापतिको जिम्मेवारीबाट हटाउने निर्णयसहितको पत्र प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीसमक्ष पुगिसकेको स्रोतले जनाएको छ ।आइतबार प्रदेशसभामा प्रस्तुत भएको चालु आर्थिक वर्षको बजेट मंगलबार पारित गर्ने कार्यसूची थियो ।
बजेटको पक्षमा मतदान गर्न एमाले संसदीय दलले आफ्ना सांसदलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन र तटस्थ नबस्न निर्देशनसहित ह्विप जारी गरेको थियो ।
तर, पार्टीको निर्देशनविपरीत बैठकमा अनुपस्थित भएका पूर्वमन्त्री वीरबहादुर थापा र सामाजिक विकास समिति सभापति पाठकसँग एमालेले ४८ घण्टाभित्र स्पष्टीकरण दिन भनेको स्रोतको भनाइ छ ।
बजेटको पक्षमा मतदान गर्न निर्देशन दिने उद्देश्यले बोलाइएको एमाले संसदीय दलको बैठकमा समेत पाठक सहभागी भएका थिएनन् । थापा भने प्रदेशसभा बैठकस्थलमा पुगे पनि हाजिरी नगरेको बताइएको छ ।
मंगलबार प्रदेशसभाबाट बजेट पारित भएपछि थापाले बैठक बहिष्कार गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । एमालेले उनलाई पठाएको स्पष्टीकरण पत्रमार्फत राजीनामा फिर्ता लिनसमेत आग्रह गरेको स्रोतले जनाएको छ ।