आईसीसीको कारबाहीमा परे अर्जुन कुमाल

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी ले नेपालका युवा ब्याटर अर्जुन कुमाललाई कारबाही गरेको छ ।

दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकपमा बंगलादेशविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका छन् ।

अर्जुनले आइसीसीको आचार संहिता २ अनुसार गल्ती गरेपछि १ निलम्बन सस्पेन्सन प्वाइन्ट पाउनुको साथै एकै पटक तीन डिमिरेट प्वाइन्ट पाएका छन् । उनको तीन डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म लागु हुनेछ ।

यदि २४ महिना अवधिमा चार डेमेरिट प्वाइन्ट वा दुई निलम्बन अंक भएमा दुई अन्तर्राष्ट्रिय क्रिकेट खेलमा प्रतिबन्ध लाग्ने गर्दछ ।

नेपाल बुधबार सुपर सिक्स खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । छैटौं ओभरमा अर्जुनले रन लिनेक्रममा बंगलादेशका मरुफ मृधालाई क्रिजमा धक्का दिँदै रन जोडेका थिए ।

त्यहिँ कारण अर्जुन र बंगलादेशका मरुफबीच केहि भनाभन भएको थियो । उनले दौडिनेक्रममा आफ्नो साइडबाट रन जोड्ने धुनमा धक्का दिएका थिए । मृधालाई धक्का दिएको कारण एकै पटक तीन डेमेरिट प्वाइन्ट पाएका हुन् ।

खेलपछि अर्जुन कुमालले म्याच रेफ्रीसँग गल्ती स्वीकार गरेका छन् । नेपालले विश्वकपको अन्तिम खेल शुक्रबार भारतसँग खेल्नेछ ।

अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । त्यसपछिका खेलमा भने अर्जुन चल्न सकेका छैनन् ।

Deep Jyoti Pustak psl
Loading...