बेपत्ता बुवाछोरा अलपत्र अवस्थामा भेटिए, बेहोस गरेर लुटपाट गरिएको आफन्तको आशंका
प्रहरीमा निवेदन दिएपनि छैन कुनै जानकारी
अत्तरिया : भारतबाट घर फर्कने क्रममा बेपत्ता भएका सुर्खेतका दुई जना बुवाछोरा भेटिएका छन् । यहि चैत्र २० गते घर फर्कने क्रममा बेपत्ता भएका सुर्खेत चियार गाउँपालिका ३ का भिम बहादुर जिसी र उनका कान्छा छोरा नरेन्द्र जिसी भेटिएका हुन् ।
नरेन्द्र जिसी शुक्रबार राती १० बजेतिर गड्डाचौकी नाकामा भेटिएका थिए भने उनीहरुका आफन्तले खोजतलास गर्ने क्रममा उनका बुवा भिम बहादुर जिसी शनिबार रुद्रपुरमा भेटिएका हुन् ।
नरेन्द्रलाई गड्डाचौकी नाकामा राती एकजना नेपालीले भेटेर आफन्तलाई खबर गरेर बुझाएका थिए भने उनका बुवालाई घरपरिवारले खोजतलास गर्ने क्रममा शनिबार रुद्रपुर बजारमा शरीरमा चोटपटक लागेको अवस्थामा फेला पारेको आफन्तले बताएका छन् ।
उनीहरुका अनुसार खाना र जुसमा नसालुपदार्थ मिसाएर बेहोस गरेर लुटपाट गरेको आशंका गरिएको छ । बुवाछोराको साथमा रहेको सामान, मोबाई र नगद ५० हजार लुटपाट गरेको बताईएको छ । चोटपटक लागेका भिमबहादुर लाई कैलालीको अत्तरिया स्थित ग्वासी मेडिकलमा सामान्य उपचार गरेर दुबै बुवाछोरालाई आफन्तले घर लगेका छन् ।

यहि चैत्र २० गते हराएका बुवाछोराका आफन्तले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा खोजतलासका लागि निवेदन दिएको बताएका छन् तर यो बिषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुनै जानकारी नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दर्ता भयो तर उक्त निवेदन दर्तामै सिमित रहेको बुझिएको छ ।
यहि चैत्र २० गते भारतको उत्तराखण्डको अल्मुडादेखी कञ्चनपुरको महेन्द्रनगर हुदै घर फर्कने क्रममा उनीहरु बेपत्ता भएका थिए । उनका आफ्न्त टोपेन्द्र जिसीका अनुसार रोजगारीको सिलसिलामा उनीहरु ४/५ महिनादेखी भारतको उत्तराखण्ड स्थित अल्मुडा जिल्लाको समेस्वरामा काम गर्दै आएका बुवाछोरा २० गते घर फर्कने क्रममा भारतको उत्तराखण्डको अल्मुडादेखी हल्द्वानी आउने क्रममा बेपत्ता भएका थिए ।
हल्दवानीबाट बनबासा हुदै महेन्द्रनगर आउने क्रममा उक्त बाटोमा अधिकांश नेपालीहरु कुटपिट हुनुका साथै लुटिने गरेका छन् ।
यो पनि हेर्नुहोस् ।
भारतको उत्तराखण्डबाट घर फर्कने क्रममा सुर्खेतका बुवाछोरा बेपत्ता