कञ्चनपुर : सीमा क्षेत्रको समग्र अवस्थाबारे स्थलगत अनुगमन तथा सीमावासी नागरिक र जनप्रतिनिधिसित छलफलका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरमा साताव्यापी चौबीसै घण्टा पैदल गस्ती सुरु गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीको आयोजनामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सो पैदल गस्ती सुरु गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा सीमास्तम्भ, दशगजाको रेखदेखका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन तथा लागुपदार्थ आयात नियन्त्रणलगायतका विषयलाई लक्षित गरी साताव्यापी पैदल गस्ती कार्यक्रम सुरु गरिएको जानकारी दिए।