कञ्चनपुर : कञ्चनपुरको दक्षिणी सीमावर्ती भारतीय बजारमा नेपालीहरूलाई लागु औषध सहित फसाएर भारतीय प्रहरीले पैसाको बार्गेनिङ गर्ने गरेको आरोप लागेको छ ।
जिल्लाको दक्षिणी सीमावर्ती भारतीय बजार भानपुरी खजुरियामा एक नेपाली युवालाई मोटरसाइकलमा लागु औषध फेला परेको भन्दै भारतीय प्रहरीले पक्राउ गरी १ लाख भारतीय रुपैयाँ दिएपछि छोडेको आरोप लागेको हो । वैशाख १ गते खजुरियामा बेलौरी नगरपालिका –१ का हरि बहादुर खत्रीलाई चेक गर्ने क्रममा भारतीय प्रहरीले उनको साथमा रहेको मोटरसाइकलमा लागु औषध बरामद गरिएको भन्दै पक्राउ गरेको थियो ।

पक्राउ परेपछि भारतीय प्रहरी चौकी खजुरियाले उनलाई हिरासतमा राखेको थियो । उनी सँगै मोटरसाइकलमा आएका २ जनालाई छोडेको प्रहरीले खत्रीलाई सुरुमा २ लाख दिए मुद्दा अगाडी नबढाउने बताए पनि पछि बार्गेनिङ गरेर १ लाखमा भारतीय रुपैयाँ दिएर छोडेको जनाइएको छ । पक्राउ परेर छुटेका खत्रीका अनुसार खजुरिया बजारमा सीमकार्ड किन्न पसल भित्र गएका बेला प्रहरीले मोटरसाइकलमा लागु औषध फेला परेको भन्दै पक्राउ गरेको थियो ।
प्रहरीले बरामद गरिएको भनेको लागु औषध नदेखाइ प्रहरीले मुद्दा अगाडी बढाइदिने भन्दै धम्क्याएर पैसाको मात्रै बार्गेनिङ गरेको खत्रीको भनाइ छ । ‘पक्राउ परेपछि घरमा फोन गरी छुटाउन सक्ने मान्छेलाई बोला भने’ उनले भने ‘मैले बुबालाई बोलाए ।
तर, दुई लाख दिन नसक्ने भनेपछि राती थुनामै रहे । आइतबार पुनः प्रहरीले के गर्ने अगाडि चलान गरिदिने हो भनेर धम्क्याउन थालेपछि १ लाख तिरेर घर आए ।’ बेलौरी नगरपालिका – १ का पुरन पन्तले पछिल्लो समय नेपालीहरूको मोटरसाइकलमा लुकिछिपी चरेस, गाँजा राखिदिने र पछि प्रहरी चेकिङ गर्न आएर एफआईआर बनाइदिने भन्दै धम्क्याएर रकम डिमान्ड गर्ने गरेको बताए ।
उनले यसअघि पनि खत्री जस्तै ५ वटा घटना घटिसकेको बताए । बसही, खजुरिया, सम्पुर्णानगर क्षेत्रमा यस्ता घटना हुने गरेको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख चक्र राज जोशीले भने यस्ता घटनाको बारेमा हालसम्म जानकारी नआएको बताएका छन् । उनले यस विषयमा दुई देशको काउन्टर बैठकमा कुरा उठाउने बताए ।