धनगढी : नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सत्ता गठबन्धनका चार दलहरुबीच समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि समाजवादीले समर्थन फिर्ता लिएके हो ।
समाजवादीका नेता दीर्घ सोडारी आफै प्रदेश प्रमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका छन । बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
काँग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको दाबी पेश गरेका थिए । समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब लक्ष्मणकिशोरसँग २५ जना प्रदेश सभा सदस्य बाँकी रहन्छन ।
तर उनकै पार्टीका ७ जना मध्ये २ जना उनलाई समर्थन नगर्ने पक्षमा छन । बैशाख २ गते नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।