अत्तरिया : कैलालीको गोदावरीका विद्यालय मर्ज गर्ने तयारी गरिएको छ । विद्यार्थीको सङ्ख्या न्यून भएका विद्यालयहरू मर्ज गर्ने तयारी गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
नगरपालिकाले शिक्षा नियमावली र कार्यविधि बनाएर विद्यालय मर्ज गर्ने तयारी गरेको हो । हाल गोदावरी नगरपालिका भित्र २९ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा नगरपालिकाले न्यून विद्यार्थी सङ्ख्या भएका ८ वटा विद्यालय मर्ज गर्ने तयारी गरेको छ । तर, चालु शैक्षिक सत्र सुरु भइसकेकाले मर्जका लागि छनोट भएका विद्यालयहरूलाई पनि नगरपालिकाले १५ दिनको समय दिएको छ ।
१५ दिन भित्रमा ती विद्यालयहरूले ७५ जना विद्यार्थी भर्ना गर्न नसकेमा मर्ज गरिने नगरपालिकाको शिक्षा शाखा प्रमुख तथा नि. प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज जोशीले बताए । नगरपालिकाले विद्यालय मर्ज गर्नको लागि गत शैक्षिक सत्रमै विद्यालयको अवस्थाका बारेमा अनुगमन गरेको थियो ।

विद्यालय मर्ज सँगै नगरपालिकाले शिक्षक पनि समायोजन गर्ने तयारी गरेको छ । गोदावरीमा लामो समय देखि विद्यार्थी सङ्ख्या अनुसार शिक्षक दरबन्दी नरहेको गुनासो गरिदैं आएको थियो । चालु शैक्षिक सत्रमा नगरपालिकामा विद्यालय मर्ज, शिक्षक दरबन्दी मिलान सँगै नगर शिक्षकलाई पनि नियुक्ति दिने तयारी गरिएको छ । जसका लागि नगरपालिकाले बुधवार मात्रै नगर शिक्षकको रूपमा अनुदान प्राप्त शिक्षकहरूलाई आन्तरिक परीक्षामा सहभागी गराएर नियुक्ति दिन विज्ञापन आह्वान गरेको छ ।
जसमा नगर शिक्षकको रूपमा अनुदान प्राप्त शिक्षकहरुहले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ । नि. प्रमुख प्रशासकीय अधिकृत जोशीद्वारा जारी सूचनामा शिक्षक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ को दफा ८ (क) बमोजिम परीक्षा सञ्चालन गरिने उल्लेख छ ।
नगर शिक्षकको रूपमा अनुदान प्राप्त शिक्षकहरूले यसअघि नै आफूहरूलाई नगर शिक्षक घोषणा गरिसकिएकाले नियुक्ति पत्र उपलब्ध गराउन माग गर्दै आएका थिए । ती शिक्षकहरूलाई यसअघि नगर शिक्षकको रूपमा मासिक तलब दिइदैं आएको थियो । तर, हाल नगरपालिकाले भने यसअघि प्रक्रिया नपु–याएको भन्दै प्रक्रिया पु¥याउनकै लागि परीक्षा सञ्चालन गर्न लागेको बताउँदै आएको छ ।
जसका लागि नगरपालिकाले वैशाख १९ गते भित्र शिक्षकहरूलाई निवेदन पेस गर्न आग्रह गरेको छ । गोदावरी नगरपालिकाले २०७८ फागुनमा १४३ जनालाई नगर शिक्षकमा नियुक्त गरेको थियो ।
तत्कालीन मेयर हरि सिंह साउँदको पालामा विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेका शिक्षकहरूलाई स्वतः नगर शिक्षकमा रुपान्तरण गरेर अनुदानमा तलब दिन सुरु गरिएको थियो । तर, ती शिक्षकहरूले नगरबाट नियुक्ति भने पाएका थिएनन् ।