अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा विद्यार्थी भर्ना अभियान अन्तरगत विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) ले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई स्टेसनरी सामग्री सहयोग गरेको छ ।
गोदावरीका चार वडामा विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको यार्डले बिहीबार गोदावरी नगरपालिका – १ अत्तरिया क्षेत्रका आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई स्टेसनरी सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई समेटेर वडामा गठन गरिएका ८ वटा महिला समुह भित्र रहेका २० बालबालिकालाई स्टेसनरी सहयोग गरिएको परियोजनाकी संयोजक सरस्वती बुढाथोकीले बताइन् ।

भर्ना अभियान अन्तरगत समुहमा आवद्ध तथा स्थानीय विद्यालयका शिक्षकको सहभागितामा ¥याली निकालिएको थियो । –याली अत्तरियाको विजयनगरबाट सुरु भएर वसन्तपुरमा रहेको गुह्येश्वरी आविमा पुगेर सम्पन्न भएको थियो । –यालीमा सहभागीहरूले ‘समावेशी र गुणस्तरीय शिक्षा आजको आवश्यकता’, ‘शिक्षाको ज्योति जगाऊ, सक्षम नागरिक तयार पारौँ’, ‘साक्षर बनौँ साक्षरता बढाऊ, बालबालिकालाई विद्यालय पढाऊ’ लगायतका नारा लगाएका थिए ।
यार्डले हाल गोदावरीको वडा नम्बर १ मा आर्थिक अवस्था कमजोर भएका परिवारका महिलाहरूलाई समेटेर ८ वटा समुह गठन गरेको छ । सोही समूहमार्फत महिलाहरूलाई स्वरोजगार बन्न प्रोत्साहन गर्ने सँगसँगै बालबालिकालाई पनि विद्यालय भर्ना गर्ने अभियान सञ्चालन गरिरहेको जनाइएको छ । अभियान गोदावरीमा वडा नम्बर १, ४, ७ र १० मा सञ्चालित छ ।
अभियान अन्तरगत बुधबार वडा नम्बर १० का २० बालबालिकालाई स्टेसनरी सहयोग गरेर भर्ना अभियान कार्यक्रम सञ्चान गरिएको थियो ।