कञ्चनपुर : रुसी सेनामा कार्यरत कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा बसोबास गर्ने विष्टको परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।

पूर्वनेपाली सेना समेत रहेका विराजन विष्ट र निराजन विष्ट दाजुभाइ नै रुसी सेनामा भर्ना भएका थिए । गत शनिबार बंकरभित्र विष्फोट भएर विराजनको मृत्यु भएको खबर उनका साथीहरुमार्फत घरका सदस्यहरूले पाएका थिए । मृतक बिष्टका पत्नी, एक छोरा र एक छोरी छन् ।
छोरा ईञ्जिनियरिङ र छोरी ११ कक्षामा अध्ययनरत छन् । नेपाली सेनाको जागीर छोडेर केही दुबई प्रहरीमा काम गरेका बिष्ट पछिल्लो समय सिंगापुर प्रहरीको अध्यागमन युनिटमा कार्यरत थिए । तिहारमा बिदामा काठमाण्डौं आएका बिष्ट फर्केर रुसी सेनामा भर्ना भएका थिए ।
उनीसंग गएका भाई निराजन र बिष्ट थरका अर्का एक युवक पनि रुसी सेनामा भर्ना भएका थिए । एउटै मोर्चामा संगै रहेका ४३ वर्षीय भाई निराजन बिष्टलाई बाहिर राखेर बंकरभित्र पसेका बिराजनको एम्बुस बिष्फोटमा मृत्यु भएको हो ।