धनगढी : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ। समयमै विद्युत् महसुल नबुझाउने ग्राहकको प्राधिकरणले लाइन काटेको हो ।
सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्न थालेको हो । सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ लाख बक्यौता रकम मध्ये लाइन काटेर प्राधिकरणले साढे चार करोड महसुल असुल गरेको प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए । सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन काटिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका तीन हजार ७ सय १२ ग्राहक मध्ये २ हजार ५ सय ६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन्। लाइन लाटिएका एक हजार एक सय ५० ग्राहकले अझै लाइन जोडेका छैनन् ।
लाइन जोड्ने ग्राहकबाट प्राधिकरणले यो वर्ष चार करोड ५३ लाख ७४ हजार बक्यौता रकम असुल भएको निर्देशक चन्दले बताए। नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिमका नौ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गरिरहेको छ । पहाडी जिल्लामा विद्युत् सेवा नपुगेका स्थानमा समेत विद्युतीकरणको काम भइरहेको छ। हाल सुदूरपश्चिममा प्राधिकरणका तीन लाख ६७ हजार २७० ग्राहक रहेका छन् । यो सङ्ख्या गत वर्षको भन्दा २८ हजारले बढेको निर्देशक चन्दले बताए ।
नेपाल विद्युत् प्राधिकरणले प्रदेश भर विद्युत् सेवा प्रदान गर्न प्रदेशका विभिन्न स्थानमा वितरण केन्द्र निर्माण र विद्युतीकरणको काम गरिरहेको छ । २०८१ को अन्तसम्म प्रदेशका सम्पूर्ण क्षेत्रमा विद्युत् विस्तार गर्ने योजना अनुसार ठेक्का सम्झौता भएर काम भइरहेको निर्देशक चन्दले बताए ।
