अत्तरिया खानेपानीको १५औ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार एक कार्यक्रमका बिच संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष टिकादत्त जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन, लेखा प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र आगामी आर्थिक वर्षको अनुमानित आयव्यय, बजेट तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टिकादत्त जोशीले सबै उपभोक्ताहरुलाई आवश्यकता अनुसार खानेपानी पु¥याउने उद्देश्यका साथ लागिरहेको बताए ।

उनले करिब ५ सय उपभोक्ताहरुबाट सुरु भएको संस्थामा हाल ५ हजार ६४ जना उपभोक्ताहरु रहेको बताउदै विगतका तुलनामा खानेपानीको माग वृद्धि भएको बताए । उनले उपभोक्ताहरुको सहजताकै लागि संस्थाले तेघरीमा एउटा ट्यांकी निर्माण गरेको पनि बताए । उनका अनुसार संस्थामा हाल ६ सय घनमिटर र ४२५ घनमिटरका २ वटा ओभरहेड ट्यांकीहरु रहेका छन भने एउटा २ सय घनमिटरको रिजर्भ ट्यांकी रहेको छ ।

संस्थामा ९ वटा डिपबोरिङ्गहरु मध्ये हाल ४ वटा मात्रै सञ्चालनमा रहेको उनले बताए । उनले ३ वटा पम्प हाउस रहेको तथा ७ स्थानमा फायर हाईड्रेन्ट रहेको समेत बताए । उनका अनुसार हाल संस्थामार्फत प्रतिमहिना प्रतिघरधुरीलाई १४ दशमलव ७३ घनमिटर पानी खपत भैरहेको छ। संस्थाले मेन र शाखा गरी १०९ किलोमिटर पाईप लाईन बिस्तार गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले हाल गोदावरी नगरपालिकाको वडा नं. १, २ र ४ का उपभोक्ताहरुलाई खानेपानीको सुविधा पु¥याउदै आएको छ ।

संस्थाको आर्थिक प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा संस्थाले कुल १३ करोड ११ लाख ३१ हजार २८७ रुपैयाको कारोबार गरेको छ । जसवाफत संस्थाले २८ लाख २६ हजार ७५४ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको छ ।

Nabadurga Sunchadi
Loading...