काठमाडौं : आज जेष्ठ शुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व । आज गंगा दशहरा पर्व देशैभर मनाईदै छ । गंगा पृथ्वीमा अवतरण भएको दिनको रूपमा यसको महत्त्व छ ।
भगीरथले अनेकौँ प्रयास गरी यही दिन गंगालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ । १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइन्छ ।
दशहरा ज्येष्ठ शुक्ल प्रतिपदामा शुरु भई दशमीमा पूरा हुन्छ । यसमध्ये दशमीको विशेष महत्त्व रहेको बताइन्छ । सके दशैदिन स्नान गर्ने नसके दशमीका दिन स्नान गर्ने विधान छ । यस दिनको दान तथा उपवासको विशेष महत्त्व छ ।
कैलालीको बेहडाबाबा सहित सुदुरपश्चिमका बिभिन्न जिल्लाका धार्मिक स्थलमा आज मेला लाग्ने गर्दछ । सुदुरपश्चिमको पर्यटकिय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्चमा पनि आज मेला लाग्ने गर्दछ । खप्तड राष्ट्रिय निकुञ्चमा सुदुरपश्चिम लगायतका बिभिन्न प्रदेश र छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुको घुइँचो लाग्छ ।

कैलाली-कञ्चनपुरका तिन पालिकामा सार्वजनिक विदा
गंगा दशहराको अवसरमा कैलाली र कञ्चनपुरका तिन पालिकाले आज सार्वजनिक विदा दिएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाले आज गंगा दशहराको अवसरमा उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था एवम् संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाइएको छ । धनगढी-१६ मा रहेको प्रसिद्ध ऎतिहासिक धार्मिकस्थल बेहडा बाबा मन्दिरमा आज गंगा दशहराका दिन मेला लाग्ने गर्दछ ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाले पनि आज गंगा दशहरा मेलाका अवसरमा सार्वजनिक बिदा दिइएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर ५ भकुण्डामा रहेको कालेश्वर महादेव नक्टाबाबा मन्दिरमा गंगा दशहरा लाग्ने गर्दछ ।
लालझाडी गाउँपालिकाको कालेश्वर महादेव नक्टाबाबा मन्दिर र रामलक्ष्मण बाटिकामा समेत मेला लाग्ने गर्दछ ।
आज यि पालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एवं संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक गरेको सूचनामा जनाइएको छ ।