अत्तरियामा लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसको अवसरमा सचेतना कार्यक्रम

अत्तरिया : कैलालीको अत्तरियामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सचेतना कार्यक्रम आयोजना गरिएको छ । उग्रतारा सुधार केन्द्रले इलाका प्रहरी कार्यालय मालाखेती सँगको सहकार्यमा सचेतना कार्यक्रम आयोजना गरेको हो ।

विभिन्न सन्देशमूलक नारा लेखिएका ब्यानर बोकेर अत्तरिया चोक परिक्रम गरी विद्यार्थीहरूको सहभागितामा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

प्रदेश सभा सदस्य तुलसी देवकोटाको प्रमुख आतिथ्यमा भएको सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी गंगा बहादुर थापाले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य देवकोटाले लागूपदार्थको प्रयोग कारोबार बढेकोले यसको नियन्त्रणका लागि जनचेतका कार्यक्रममा जोड दिनुपर्ने बताइन् । उनले बालबालिका यसको बढी जोखिममा रहेकाले बालबालिकालाई विद्यालयबाटै लागू औषध विरुद्धको सचेतना दिनुपर्ने बताएकी छन । लागूओषध विरुद्धको अभियान एक दिन मात्रै नभएर नियमित सञ्चालन हुनुपर्ने प्रदेश सभा सदस्य देवकोटाले बताइन् ।

उग्रतारा सुधार केन्द्रका सञ्चालक विमल भट्टले सुधार केन्द्रबाट हालसम्म १५ सय भन्दा बढी लागू औषध दुव्र्यसनिमा फसेकालाई समाजमा पुनर्स्थापना गरिएको बताए । उनले बालबालिका नै बढी जसो लागू औषधको दुर्व्यसनीमा फस्ने जोखिम हुने भएकाले यसबाट जोगाउन सबै सचेत हुन आवश्यक रहेको बताए ।

बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जिउने वातावरण सिर्जनाका लागि हरेक वर्ष जुन २६ मा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस दिवस मनाउने गरिन्छ ।

Dhn_Laingik Hinsa 2082
Loading...