धनगढी : सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्रालयको विभाजन गरेर विना विभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिइएको बताए।
उनका अनुसार आज नै पाँचै जनाले पदभार ग्रहण गर्ने भएका छन् । सुदूरपश्चिममा हाल कायम रहेका मन्त्रालयहरूमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाइएको छ।
भौतिक फुटाएर बनाइएको मन्त्रालयमा मन्त्रीमण्डलको दोस्रो वरियतामा रहेका नेकपा माओवादी केन्द्रका अक्कल रावललाई जलस्रोत तथा सहरी, नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै गरेर सामाजिक फुटाएर माओवादीका ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्री बनाइएको छ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा एमालेका वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा एकीकृत समाजवादी का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ। एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। ती मध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन्।
यसअघि एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्री बन्दा माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकास मन्त्री बनेका थिए। त्यसअघि जेठ ६ मा उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो।
सुदूरपश्चिममा विगतमा सात पूर्ण र चार राज्य गरेर ११ सदस्यीय मन्त्रीमण्डल बनाउने गरिएको थियो । यस पटक भने चार दलको तालमेलको सरकार बनेपछि १० जना पूर्ण मन्त्री बनेका छन्।