सुदूरपश्चिममा आएको बाढीपहिरो र डुबानका कारण जनजीवन प्रभावित
महाकाली नदीको सतह बढेपछि प्रहरीले सीमा नाकाहरुमा माइकिङ गर्यो
अत्तरिया : अविरल वर्षापछि सुदूर पश्चिमका पहाडी सात जिल्लामा खसेको पहिरो र तपाईका दुई जिल्लामा आएको बाढी र डुबानका कारण जनजीवन प्रभावित भएको छ । सात वटा पहाडी जिल्ला सडकका बिभिन्न भागमा खसेका पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।
कैलालीको कैलारी गाउँपालिकाका केही वस्तीहरु डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिकाको कनरी गाउँमा खुटिया नदी पसेको छ । खुटिया नदी बस्तीमा पसेपछि डुबानमा परेका केही परिवार सुरक्षित आश्रय स्थलमा सरेका छन् । पानीको बहाव बढ्दै गरेका कारण स्थानीय बासिन्दा त्रसित छन् । कन्द्रा र मोहना नदीमा बाढीपछि डुबानमा परेका भजनी नगरपालिकाको ५ र ७ वडाका ४० परिवार हुलाकी सडकमा आश्रय लिईरहेका छन् ।
निरन्तरको वर्षाले कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा परेका छन । वर्षा नरोकिएकाले दुवै जिल्लाका प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेका छन । कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयहरूले छुट्टा छुट्टै सूचना जारी गरेर नदी तटीय क्षेत्रका नागरिक तथा सम्बन्धित सबै सरोकारवालालाई सतर्कता अपनाउन निर्देशन जारी गरिएको हो ।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा जोड्ने राजमार्गका बिभिन्न स्थानमा खसेको पहिरोका कारण सडक अबरुद्ध भएको भने पहिरो हटाउने कार्यपनि संगसंगै भईरहेकोले लामो समयसम्म सडक अबरुद्ध हुन पाएको छैन ।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले अविरल वर्षापछि पहाडी जिल्लाका बिभिन्न सडक खण्ड पहिरो खसेका कारण अबरुद्ध भएपनि संगसंगै पहिरो हटाउने कार्यपनि भएकाले लामो समयसम्म सडक अबरुद्ध नभएका बताए । अविरल वर्षाका कारण नदीको जलसतह बढ्ने क्रम जारी रहेकोले जोखिम भने बढ्दै गएको डिआईजी केसीले बताए ।
महाकाली नदीको सतह बढेपछि प्रहरीले सीमा नाकाहरुमा माइकिङ गर्यो
निरन्तर वर्षाका कारण महाकाली नदीको सतह बढेपछि प्रहरीले सीमा नाकाहरुमा माइकिङ गर्न सुरु गरेको छ । जोखिम स्थानमा स्थानीयको आवतजावत गर्न नदिन प्रहरीले माइकिङ गरिरहेको हो ।
प्रहरीले आइतबार सदरमुकाम क्षेत्रको रिङगलताल, बंगाबगड क्षेत्रमा बिहानैदेखि माइकिङ गरेर सबैलाई सचेत गराएको छ । बाढी आउँदा पनि स्थानीयले महाकाली नदीबाट बालुवा निकाल्ने, दाउँरा संकलन गर्ने, नदी किनारमा मानिसहरुको भीड लाग्ने गरेकाले माइकिङ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै अविरल वर्षाका कारण कर्णाली बेसिन अन्तर्गत डोटीको ठूली गाड नदीमा पानीको उच्च बहावले खतराको तह पार गरेको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार आइतबार बिहान ठूली गाढ नदीमा बाढीले खतराको तह पार गरेको हो । साढे ५ मिटरसम्म पानीको सतह बढ्दा खतराको तह हुनेमा आइतबार बिहान ११ बजेको समयमा ८ दशमलव ७६ मिटर जलसतह बढेको हो ।
वर्षा नरोकिएपछि कृष्णपुरका विद्यालयमा २ दिन विदा
कञ्चनपुरको कृष्णपुरका विद्यालयमा २ दिन विदा दिइएको छ । नगरपालिकाले आइतबार एक विदा सम्बन्धी सूचना जारी गर्दै असार २४ र २५ गते विदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टद्धारा जारी सूचनामा वर्षाका कारण विद्यार्थीहरुलाई आवतजावतमा समस्या भएकाले विदा दिने निर्णय गरिएको उल्लेख छ । सूचनामा वर्षादमा विद्यालयहरुमा विद्यार्थीको उपस्थिति न्यून देखिएकाले हिउँदे विदाबाट मिलान हुनेगरी विदा दिइएको उल्लेख छ ।