काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । सोही दाबीअनुसार राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । ३१ गते प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ। ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।
कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् ।
उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दल छन् ।
नेकपा एमालेले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ भने कांग्रेस संसदीय दलको बैठक बस्दै छ।
गत असार १७ गते राति कांग्रेस र एमालेबिच सत्ता साझेदारी गर्ने ७ बुँदे सहमति भएको थियो । यद्यपि सो सहमतिपत्र अझैसम्म सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री ओलीले आजै देशवासीका नाममा सम्बोधन गर्दैछन्। सम्बोधनका क्रममा सहमती पत्र सार्वजनिक गर्नुपर्ने कांग्रेस महामन्त्री गगन थापाको माग छ ।
दुई प्रमुख दलबिच सत्ता साझेदारी गर्ने सहमतिअनुसार एमाले अध्यक्ष ओलीलाई चौथो पटक मुलुकको प्रधानमन्त्री हुने अवसर मिलेको थियो। दुई प्रमुख दलको सहमतिअनुसार सुरुको दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन्।