कैलाली र कञ्चनपुरबाट ११ लाख बढीको अवैध सामान नियन्त्रणमा
कञ्चनपुरमा अवैध सामानसहित १४ वटा मोटरसाइकल नियन्त्रण
अत्तरिया : धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ । शुक्रबार ४ लाख २ हजार ६०० मूल्य बराबरको अवैध भन्सार छलीको समान बरामद गरिएको प्रहरीले बताएको हो ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-२ रामजानकी मन्दिर नजिक भारतबाट भन्सार छली ल्याएको अन्दाजी २ लाख १२ हजार मूल्यको जेन्स र लेडिज मोजा बरामद गरेको जनाएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–३ मा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख ९० हजार ६०० मूल्यको लन्डनहर्न, चस्मा र चस्माको ग्लास बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली बुझाएको बताएको छ।
यस्तै कञ्चनपुरमा प्रहरीले आठ लाख मूल्य बढीको अवैध सामानसहित १४ वटा मोटरसाइकल नियन्त्रण लिएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले ७ लाख ३५ हजार, इलाका प्रहरी कार्यालय दोधाराले ७२ हजार ८८०, प्रहरी चौकी परासनले ८ हजार ७ सय र अस्थायी प्रहरी पोष्ट मझगाउँले ६ हजार १८० गरी जम्मा ८ लाख २२ हजार ७६० मूल्य बराबरको अवैध सामान नियन्त्रण लिएको हो ।
भन्सार छलीको चिनी, सलाई, बिडी, तेल लगायत १४ थान मोटरसाइकल बरामद गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।