धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई पदबाट बर्खास्त गरेका छन् ।
आफ्नो निर्देशन विपरीत प्रदेश सभाको बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले थापालाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले थापालाई पदबाट बर्खास्त गरिएको बताए । थापा प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा सहभागी भएकी थिइन् ।
८ साउनमा बसेको पहिलो र आइतबार बसेको दोस्रो बैठकमा सहभागी भएपछि थापालाई मन्त्रीबाट बर्खास्त गरिएको हो । मुख्यमन्त्री सोडारीले एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि चालु आर्थिक वर्ष २०८१/८२ को बजेट अध्यायदेशमार्फत ल्याउन खोजेका थिए ।
तर प्रदेश प्रमुख नजिर मियाँले २९ असारमा सरकारले सिफारिस गरेको बजेट अधिवेशन अन्त्य गर्ने सम्बन्धी पत्र ३ साउनमा मात्र कार्यान्वयन गरेका थिए भने कांग्रेस र एमालेका एक चौथाई बढि प्रदेश सभा सदस्यको मागबमोजिम भोलिपल्ट विशेष अधिवेशन आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको यो कदमले मुख्यमन्त्री सोडारीको अध्यायदेशमार्फत बजेट ल्याउने विकल्प बन्द भएको थियो । सरकारले बजेट ल्याउन नसकेपछि सुदूरपश्चिम प्रदेश साउन १ गतेदेखि बजेट शून्यतामा गएको छ ।