धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले गराएको व्यवसाय दर्ता खारेजी गरिएको छ। सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको हो ।
लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको हो । यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको हो ।

धनगढी-५ का प्रभाकर भण्डारीबाट साढे चार कट्ठा जग्गा १५ वर्षका लागि लिजमा लिएर लेट मेइन धनगढी प्रालिले चर्च निर्माण गरेको हो । सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको थियो । त्यसपछि नेपाल लाइफ वर्ड मिसन नामक मसिनरीले सो भवनमा धनगढी मण्डली चलाउन थालेको हो ।
वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल वर्ड मिसनलाई लेखेको पत्रमा स्थानीयको गुनासो आएपछि स्थालगत अध्ययन गर्दा व्यवसाय दर्ता प्रमाण पत्रमा उल्लेख गरिएभन्दा फरक ढङ्गले कार्य गरिरेहको पाइएकाले दुबै संस्थाको व्यवसाय दर्ता खारेज गरिएको जनाएको छ ।
नगरपालिकाले साउन १० गते विस्तृत अध्ययन समिति गठन गरेर साउन १३ गते दर्ता गर्दा उल्लेख भएका उद्देश्यभन्दा फरक ढङ्गले काम गरिरहेको पाइएकाले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेज गर्ने निर्णय गरेको थियो । यो सँगै व्यवसाय दर्ता गरेर धर्मान्तरणमा संलग्न रहेको लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनको व्यवसायको इजाजत खारेज भएको हो ।
