धनगढी : धनगढी उपमहानगरपालिकाले कञ्चनपुरको कृष्णपुरमा समेत शव चिस्यान सेवा प्रदान गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर वडा नम्बर ९ जोरायल टोल निवासी दिनादेवी सुनारको मृत शरीर राख्न शव चिस्यान यन्त्र सहयोग गरेको हो ।

मृतकको परिवारबाट शव राख्न चिस्यान यन्त्र आवश्यक परेको नगर प्रहरीलाई खबर आएपछि नगर प्रहरीले घरमै चिस्यान यन्त्र पुगाएको हो । उपमहानगरले निःशुल्क शव चिस्यान सेवा प्रदान गरेको छ ।
कैलाली र कञ्चनपुरका स्थानीय तहमा निःशुल्क शव चिस्यान सेवा प्रदान गर्न उपमहानगरपालिकाले बिहिवार मात्रै थप दुईवटा शव चिस्यान यन्त्र खरिद गरेको थियो । शव चिस्यान सेवा आवश्यक परेमा नगर प्रहरीको टोल फ्री नम्बर १८१०५००००९० मा सम्पर्क गर्न उपमहानगरले आग्रह गरेको छ ।
उपमहानगरले मृतकको घरसम्म चिस्यान यन्त्र पुगाएर निःशुल्क सेवा प्रदान गर्दै आएको छ । पार्थिव शरीरको दाहसंस्कारपछि निःशुल्क शव चिस्यान मृतकको घरबाट नगर प्रहरीले नै उपमहानगरपालिकामा ल्याउने गर्छ । धनगढी उपमहानगरपालिकाले चिस्यान सेवाका लागि पाँचवटा शव चिस्यान यन्त्र खरिद गरेको छ ।