डोटी : डोटीबाट प्रशासनको टोली पूजा सामग्री (पेटारो) बोकेर बडीमालिका प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि सोमवार जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा टोली पैदल यात्रा गर्दै प्रस्थान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरी टोलीलाई विदाइ गरेका थिए । सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट सोमवार विदाई गरिएको हो ।
टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय पूजारी तथा सन्तको सहभागिता रहेको छ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोली पेटारोसहित पैदल जाने गर्दछ । डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिर, नाट्यश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी उक्त टोली बडीमालिका प्रस्थान गर्ने प्रचलन चल्दै आएको छ । परापूर्वकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडिमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणाकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्नेछ ।
जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बास बस्ने छ । दोस्रो दिन पूर्वीचौकी-५ को धानुकाँडामा बास बस्नेछ । यस्तै, अछामको मार्कु, प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडिमालिका पुग्ने चलन छ ।
पूजा सामग्रीमा दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व जिल्ला अनुसन्धान कार्यालयका रेसम अधिकारीले गरेका छन् ।