सुदूरपश्चिम प्रदेश सरकारले एकै पटकमा पायो पूर्णता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एकै दिनमा पूर्णता पाएको छ । मुख्यमन्त्रीसहित सात मन्त्रालय र तीन राज्य मन्त्रीले सोमबार एकै पटक शपथ लिएका छन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहलाई सोमबार प्रदेश प्रमुख नजिर मियाँले शपथ गराए। शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । सुदूरपश्चिममा यसपटक नेपाली काँग्रेस, एमाले र नागरिक उन्मुक्तिले सत्ता साझेदारी गरेका छन् ।

साझेदार दलहरुमध्ये मन्त्रालय संख्या भागबन्डाका क्रममा नेपाली काँग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र दुई जना राज्यमन्त्री, नेकपा एमालेले तीन मन्त्रालय र एक जना राज्यमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय भागबण्डा गरेका छन् । आर्थिक मामिला काँग्रेस र भौतिक पूर्वाधार मन्त्रालय एमालेले पाएका छन् ।

नेपाली काँग्रेसले आर्थिक मामिला मन्त्रालयमा कञ्चनपुरका बहादुरसिंह थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का नियुक्त गरेको छ भने कैलालीका प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र डडेल्धुराकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै नेकपा एमालेबाट बैतडीका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि तथा सहकारीमा कञ्चनपुरका वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनपुरकै हिरा सार्की नियुक्त भएका छन् । डोटीकी निर्मला साउँद भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी कैलालीका हुन् ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक एकै समयमा मन्त्रीमण्डलले पूर्णता पाएको हो ।

Loading...