अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन । प्रदेश सभाको बुधबार बसेको बैठकमा शाहले विश्वासको मत पाएका हुन । जम्मा ४५ प्रदेश सभा सदस्य उपस्थित रहेको बैठकमा मुख्यमन्त्री शाहको पक्षमा ३६ सदस्यले मतदान गरेका थिए ।
यस्तै विपक्ष ८ सदस्यले मतदान गर्दा एक प्रदेश सभा सदस्य तठस्थ बसेका छन । मुख्यमन्त्री शाहको पक्षमा काँग्रेसको १८, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको ७ गरी ३६ जनाले मत दिएका थिए ।
माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए । बैठकमा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ सांसद उपस्थित थिए । उनीहरुले विपक्षमा मतदान गरेका थिए ।
स्वतन्त्र १ सांसद तठस्थ बसेका छन । मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा जम्मा ७ जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ जना माओवादी केन्द्रका हुन् ।
सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुँवर, झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित भएनन् । त्यस्तै राप्रपाकी खेमादेवी विष्ट पनि बैठकमा उपस्थित भइनन् । माओवादीले विश्वासको मतको विपक्ष मतदान गर्ने जनाए पनि ह्वीप लगाएको थिएन ।