अत्तरिया : कैलालीको अत्तरियामा रहेको किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोदावरी नगरपालिका-२ अत्तरिया स्थित उक्त सहकारीको नवौं वार्षिक साधारण सभा आज (बिहीबार) एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष राधा विष्ट कुँवरले कार्यक्रममा बर्षभरि भएका संस्थाको गतिविधिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । यस्तै कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०८०\०८१ को आय-व्यय प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी प्रबन्धक सुना रोकायाले २०७२ सालमा २७ जना शेयर सदस्यहरु मिलेर स्थापना गरी सञ्चालनमा ल्याएको यस सहकारी संस्थामा हाल २ हजार ६ जना शेयर सदस्यहरु पुगाउन सफल भएको बताइन्। उनले आर्थिक बर्ष २०८०\०८१ म संस्थाले ४ करोड ३० हजार ९ सय ४४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको बताईन् ।

साथै संस्थाको कुल शेयर पूँजि ५० लाख ३ सय रहेको बताईन् । यस्तै जगेडा कोषमा २१ लाख ९९ हजार २४७ रुपैँया रहेको बताउदै प्रबन्धक रोकायाले ३ करोड ७६ लाख १ हजार ४५३ रुपैयाँ कर्जा तर्फ लगानी गरेको बताइन् । यस आर्थिक वर्ष निक्षेपमा २ करोड ४८ लाख ४५ हजार ३१ रुपैयाँ बचत संकलन रहेको जुन गत वर्षको भन्दा २९ लाख ५७ हजार ९५६ रुपैयाँ बृद्धि भएको प्रबन्धक रोकायाले बताइन् । त्यसैगरी संस्थाले यस आर्थिक वर्षमा १ लाख ८१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाले विशेष गरी महिलाहरुको जीवनस्तर उकास्न सहजीकरणको लागि सहकारीमा आबद्ध सदस्यहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ भने कृषिलाई पहिलो प्राथमिकता दिदै आइरहेको छ ।
संस्थाकी अध्यक्ष राधा विष्ट कुँवरको सभापतित्वमा सम्पन्न साधारण सभामा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी प्रमुख अतिथि थिए । कार्यक्रममा सूर्य ज्योति लाईफ इन्स्योरेन्स अत्तरिया शाखा प्रबन्धक नरेश भट्ट, नेपाल महिला सशक्ती उद्यम विकासका अधिकृत सन्तोष पराजुली, बिभिन्न संघसंस्थाका प्रतिनिधी लगायत शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाकी उपाध्यक्ष शान्ति देवी कामीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शारदा फुलाराले गरेकी थिईन् ।
