धनगढी : कैलाली र कञ्चनपुरबाट ५ लाख बढीका भन्सार छलिका सामान बरामद गरिएको छ । दुबै जिल्लाका बिभिन्न स्थानबाट पाँच लाख ७० हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहा, धनगढी-१५ कनरी, टीकापुर नगरपालिका-७ डाडाबोजी र गौरीगंगा नगरपालिक-१० उदासीपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य २ लाख ३७ हजार ४० मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
उक्त मूल्यको प्याज, चिनी, मिश्री, सरप, साबुन, नरिवल, सुर्ती, मिठाई, किसमिस, दाल, चक्लेट, मसला, साडी, कुर्ती, ब्याट्री, थान-१ मोटरसाइकल लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-९ बह्मदेव र पुनर्वास नगरपालिका-११ डोकेबजार बाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३ लाख ३२ हजार ९६० मूल्य बराबरको प्याज, चिनी, खाने तेल, टेबुल, पाउडर, थान-१ मोटरसाइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।