धनगढी : पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन् ।
प्रचण्ड सहित पार्टीका अन्य नेताहरु आज बिहान नियमित उडानबाट धनगढी आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ ।
दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिएका छन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु सहभागी हुने माओवादी केन्द्रले जनाएको छ । उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।
पार्टीलाई कसरी मजबुद बनाउने भन्नेबारे नेताहरुको सुझाव संकलन गर्नका लागि बैठक आयोजना गरिएको प्रदेश सचिव बुढाले बताए । पार्टी निर्माणका लागि नेताहरुको सुझाव संकलन गर्न माओवादीले सातवटै प्रदेशमा बैठकहरु तय गरेको छ ।