डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले लिखित सहमतिअनुसार अहिलेको गठबन्धन २०८४ सालसम्म नै चल्ने दाबी गरेका हुन् । सुरुको दुई वर्ष एमाले र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गर्ने सहमति भएको उनले बताए ।
सभापति देउवाले २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफू लड्ने/लड्ने विषयमा डडेल्धुराका नागरिकलाई सोध्नुपर्ने बताए । देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्छु भनेर यसअघि पनि आफूले आश्वासन नदिएको दाबी गरे । राजधानी नै सार्छु नभनेको तर डडेल्धुराभन्दा बरु डोटीका लागि कुरा भएको उनले बताए ।
यस्तै देउवाले सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने बताएका छन् । जुनसुकै पार्टीका भए पनि सहकारी ठगीमा संलग्नलाई कारबाही हुन्छ,’ उनले भने, -सहकारीपीडितको रकम फिर्ताका लागि पनि सरकारले काम गरिरहेको छ ।’ उनले डडेल्धुरामा पनि शिवशिखर सहकारीले ठुलो रकम ठगी गरेको बताउँदै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताए ।
