बैतडी : बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ ।
दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो । घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा आजदेखि जात्रा शुरु हुने र भोलि महाष्टमीका दिन बलिसहित जात्रा समापन हुने मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए ।
यो बर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको आठौं दिन महासप्तमी परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सोही अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा पनि आज महासप्तमी र भोलि महाष्टमी मानिएको बोहराले बताए ।
निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ ।
