काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । आज हुने एकमात्र खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ ।
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । गत संस्करण लुम्बिनी लायन्सका लागि बिसर्नलायक बन्यो । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेलको कप्तानीमा खेलेको लुम्बिनीले ७ मध्ये १ खेलमात्र जित्दै तालिकाको पुछारमा रहेर बाहिरिएको थियो ।
औसतभन्दा कमजोर प्रदर्शन गरेको लुम्बिनी यसपटक सन्तुलित देखिन्छ । रोहितसहित ६ खेलाडी रिटेन गरेको लुम्बिनी यसपटक अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइबलाई अनुबन्ध गर्दै बलियो टोली बनाएको छ ।
यता, युवा अलराउण्डर कुशल मल्ल मार्की तथा कप्तान रहेको चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो । औसत प्रदर्शनका बाबजुद एलिमिनेटरसम्म पुग्नु चितवनको सफलता बन्यो ।
दुई विदेशीसहित १० खेलाडी यस पटक पनि चितवनबाटै खेल्दैछन् । गत संस्करण सर्वोत्कृष्ट खेलाडी बनेका इङ्ल्याण्डका ब्याटिङ अलराउण्डर सैफ अली जैबलाई अनुबन्ध गर्दै बलियो टोली बनाएको छ ।
गत संस्करण लिग चरणमा यी दुईबीच भएको खेलमा लुम्बिनी ३३ रनले विजयी भएको थियो । चितवनविरुद्धको त्यो जित नै लुम्बिनीको एकमात्र सफलता हो। यसपटक पनि लुम्बिनी त्यही नतिजा दोहोर्याउने लक्ष्यमा रहँदा कर्णाली याक्सलाई हराएको चितवन बलियो उपस्थिति देखाउन चाहन्छ ।
