आनन्दको क्रेजले जेन-जी तानिए, झिलका १० युवा कांग्रेसमा प्रवेश

अत्तरिया: कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि गोरखबहादुर बिष्ट ‘आनन्द’ को बढ्दो जनसमर्थन र अभियानको प्रभावले युवापुस्तामा उत्साह देखिएको छ । यही माहोलका बीच गौरीगंगा नगरपालिका-३, झिलका १० जना जेन-जी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रम झिल वासुदेवमा आयोजित विशेष भेटघाट कार्यक्रमका बीच सम्पन्न भएको थियो । कार्यक्रममा उम्मेदवार आनन्द बिष्टले नवप्रवेशी युवाहरू खेम थापा, जनक सिंह, विकाश साउद, राम साउद, सुरेश साउद, नवीन साउद, सुदन साउद, विक्की चौधरी, शेरबहादुर थापा र रुपेश जोशीलाई टीका र खादा लगाएर स्वागत गरे । उनले युवाहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक मूल्य-मान्यता सुदृढ हुने र विकास-समृद्धिको यात्रामा नयाँ ऊर्जा थपिने बताए ।

नवप्रवेशी युवाहरूले भने, “क्षेत्र नम्बर ४ मा शिक्षा, रोजगारी, पूर्वाधार र पारदर्शी नेतृत्वका लागि स्पष्ट एजेन्डासहित अगाडि बढिरहेका आनन्दप्रति आकर्षित भएर हामी कांग्रेसमा आबद्ध भएका हौं ।” उनीहरूले ‘रूख’ चिन्हमा मतदान गरी आनन्द बिष्टलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय क्षेत्र नम्बर ४ मा युवापुस्ताको झुकाव निर्णायक बन्दै गएको छ । सामाजिक सञ्जाल र घरदैलो अभियानमार्फत प्रत्यक्ष संवाद बढाइरहेका आनन्दलाई युवाहरूले सकारात्मक रूपमा लिएको देखिन्छ ।

कार्यक्रममा पार्टीका स्थानीय नेता-कार्यकर्ता, शुभेच्छुक तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । निर्वाचन नजिकिँदै जाँदा यस प्रकारका प्रवेश र समर्थनले क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

Deep Jyoti Pustak psl
Loading...