सुदूरपश्चिम महोत्सवमा ३ करोड ७८ लाख बढी आम्दानी

८२ लाख ९२ हजार ४७१ रुपैयाँ बचत

धनगढी: कैलाली उद्योग वाणिज्य संघले गत मंसिरमा आयोजना गरेको सुदूरपश्चिम महोत्सव २०८२ को आयव्यय विवरण सार्वजनिक गरेको छ । मङ्गलवार पत्रकार सम्मेलन गरी संघले महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार महोत्सवबाट कुल ३ करोड ३३ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ आम्दानी भएको छ । यस्तै महोत्सवमा दुई करोड ६३ लाख एक हजार ७४० रुपैयाँ खर्च भएको छ । महोत्सवमा भएको कुल खर्चमध्ये संघीय सरकार र स्थानीय सरकारलाई ६० लाख ५४ हजार ३३५ रुपैयाँ कर भुक्तानी गरेको अध्यक्ष ओझाले जानकारी दिए । कर कटाएर कुल आम्दानी ८२ लाख ९२ हजार ४७१ रुपैयाँ बचत भएको बताईएको छ ।

करतर्फ संघीय सरकारअन्तर्गत आन्तरिक राजस्व कार्यालयमा कर दायित्वसमेत पूरा गरेको उनले बताए। उनले कर दायित्व करिब २७ लाख ६४ हजार रुपैयाँ १५७, मूल्य अभिवृद्धि कर १३ लाख १८ हजार ९१२ रुपैयाँ र अग्रिम आयकर १० लाख ६७ हजार ७७९ रुपैयाँ आन्तरिक राजस्व कार्यालयमा दाखिला गरेको बताए । कुल आम्दानी मध्ये नयाँ भवन निर्माणका लागि करिब ४५ लाख रुपैयाँ भुक्तानी गर्दा २४ लाख ७३ हजार ५५९ रुपैयाँ खुद बचत भएको अध्यक्ष ओझाले जानकारी दिए ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न महोत्सवले आर्थिक, सांस्कृतिक तथा सामाजिक रूपमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरिएको छ । महोत्सव अवधिभर २ हजारभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएको तथा स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएको अध्यक्ष ओझाले बताए ।

अध्यक्ष ओझाले सुदूरपश्चिम महोत्सवलाई केवल व्यापारिक मेला नभई सुदूरपश्चिमको पहिचान, सम्भावना र संस्कृतिको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गरिएको बताए । साथै, ‘सुन्दर सुदूरपश्चिम’ नारालाई अझ विस्तार गर्दै ‘भिजन सुदूरपश्चिम’ अवधारणामार्फत दीर्घकालीन विकासका लागि छलफल र संवाद अघि बढाइएको उनले बताए । अध्यक्ष ओझाले आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन विकाससँग जोड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Loading...