इप्रका मालाखेतीका डिएसपी चन्दको सरुवा, महरा आउदै

अत्तरिया: कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेती (इप्रका) का प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दको सरुवा भएको छ । उनको जिल्ला प्रहरी कार्यालय डोटी सरुवा भएको हो ।

नेपाल प्रहरीमा शुक्रवार ४६ जना प्रहरी उपरीक्षक (एसपी) र १४९ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा हुने क्रममा चन्दको डोटी सरुवा भएको हो ।

उनको ठाउँमा सुदूरपश्चिम गम्भीर अपराध अनुसन्धान शाखा धनगढीबाट डिएसपी हिरा सिंह महरा आउने भएका छन् ।

नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ दरबन्दी भएका महरा काजमा इप्रका मालाखेती आउन लागेका हुन् ।

डिएसपी चन्द अत्तरिया आउनु अघि पनि डोटीमै रहेको सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलमा कार्यरत रहेका थिए । उनी गत वर्ष वैशाखमा सरुवा भएर अत्तरिया आएका थिए ।

Loading...