समाजसेवी बालकृष्ण भट्टराईद्वारा नवज्योति माविलाई शैक्षिक सामग्री हस्तान्तरण
बैतडीको भुवनेश्वर आविलाई पनि सोफा सेट सहयोग
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-३ मालिका टोल निवासी समाजसेवी तथा नवज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थी बालकृष्ण भट्टराईले आफ्ना स्वर्गीय बुवा नवराज भट्टराईको स्मृतिमा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
उनकी आमा पार्वती देवी भट्टराईको हातबाट कक्षा १ देखि १० सम्म अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ ।
भट्टराईले आफ्ना बुवाको स्मृतिलाई सम्मान गर्दै गरेको यो सहयोगका लागि विद्यालय परिवारले बालकृष्ण भट्टराई तथा उनको परिवारप्रति धन्यवाद ज्ञापन गरेको छ । विद्यालयका अनुसार उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक टेवा पुग्ने छ ।
यस्तै भट्टराईले आफ्ना बुवाको स्मृतिमा बैतडीको पाटन नगरपालिका-१ मा रहेको भुवनेश्वर आधारभुत विद्यालयलाई एक थान सोफा सेट सहयोग गरेका छन्। “हाम्रो विद्यालय, हाम्रो लगानी” कार्यक्रम अन्तर्गत भट्टराईले विद्यालयको कार्यालय व्यवस्थापनका लागि एक थान सोफा सेट प्रदान गरेका हुन् ।

पाटन-१ लदौली घर भई हाल गोदावरी-३ मालिका टोलमा स्थायी बसोबास गर्दै आएका भट्टराईले बुवाको स्मृतिमा विद्यालयको कार्यालय व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यले उक्त सामाग्री सहयोग गरेको बताए ।
सामाग्री सहयोग पछि बिद्यालय परिवारले बालकृष्ण भट्टराई तथा उनको परिवारप्रति धन्यवाद ज्ञापन गरेको छ । स्वर्गीय नवराज भट्टराई सोही विद्यालयका संस्थापक प्रध्यानाध्यापक समेत हुन् ।
समाजसेवी भट्टराईले विद्यालयलाई बिभिन्न सहयोग गर्दै आएका छन् ।