धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित रोड हाउस क्याफे नजिक दुई जना पुरुषमाथि कुटपिट भएको छ।
मंगलबार राति करिब ९ः३० बजे धनगढी–३ निवासी ३८ वर्षीय सन्तोष श्रेष्ठ र ३१ वर्षीय सानु श्रेष्ठमाथि ३–४ जना अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट दुवै जनाको टाउकोमा चोट लागेको छ। घाइते दुवै जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ भने हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि कुटपिटमा संलग्न व्यक्तिहरू फरार रहेका छन्। प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामसिंह बोहराको कमाण्डमा खटिएको टोलीले फरार आक्रमणकारीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।