दलित बस्तीमा वैदिक संस्कारको अभियान : २७ वर्षदेखि सामाजिक समरसताको सन्देश फैलाउँदै आचार्य गणेशप्रसाद पन्त

अत्तरिया : जातीय विभेद र छुवाछुतविरुद्ध धार्मिक चेतनामार्फत सामाजिक परिवर्तन ल्याउने उद्देश्यका साथ बैतडीका आचार्य गणेशप्रसाद पन्त विगत २७ वर्षदेखि निरन्तर अभियानमा सक्रिय रहनुभएको छ।

उहाँले दलित तथा शिल्पी समुदायका बस्तीमै पुगेर वैदिक विधिअनुसार विवाह, व्रतबन्ध, न्वारन, गृहप्रवेश, रुद्राभिषेक, भागवत सप्ताह, पुराण वाचनलगायत विभिन्न धार्मिक संस्कार सम्पन्न गर्दै सामाजिक समरसताको सन्देश फैलाउँदै आउनुभएको छ। आचार्य पन्तका अनुसार धर्मले कुनै पनि व्यक्तिलाई जन्म, जात वा समुदायका आधारमा विभेद नगर्ने भएकाले सबै नागरिकलाई समान रूपमा धार्मिक संस्कारमा सहभागी हुने अधिकार सुनिश्चित हुनुपर्ने धारणा उहाँको छ। यही विश्वासका साथ उहाँले लामो समयदेखि सामाजिक कुरीतिविरुद्ध अभियान सञ्चालन गरिरहनुभएको बताउनुभयो।

उहाँले हालसम्म सयौँ धार्मिक अनुष्ठान तथा हजारौँ वैदिक संस्कार सम्पन्न गरिसकेको जानकारी दिनुभयो। साथै, शिल्पी समुदायका ठूलो सङ्ख्यामा व्यक्तिलाई वैदिक परम्पराअनुसार जनैधारण गराउनुका साथै महिलाहरूलाई धार्मिक संस्कारमा सहभागी गराउने कार्यलाई पनि निरन्तरता दिइरहनुभएको छ। यस अभियानका क्रममा सामाजिक आलोचना, विरोध तथा परम्परागत यजमान गुमाउनुपरेको अनुभव भए पनि मानव सेवा र धार्मिक समानताको लक्ष्यबाट पछि नहट्ने दृढता उहाँले व्यक्त गर्नुभयो।

आचार्य पन्तले समाजमा रहेका सबै प्रकारका जातीय विभेद अन्त्य गरी धार्मिक स्थल, मन्दिर र संस्कार सबैका लागि समान रूपमा खुला हुनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार वैदिक संस्कारले समाजमा एकता, सद्भाव र समानताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। उहाँले आगामी दिनमा पनि सामाजिक समरसता, धार्मिक समानता र वैदिक संस्कारको विस्तारका लागि आफ्नो अभियानलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Loading...